logo trishakti

लाओसलाई हराउने नेपालको लक्ष्य

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

      फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोट अन्तर्गत दोस्रो लेगको खेलमा नेपालले आज लाओससँग खेल्दैछ । खेल लाओसको भिएनतिएनेस्थित न्यु लाओस नेशनल स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ ।

बिहीबार काठमाडौंमा भएको पहिलो लेगको खेलमा नेपालले लाओससँग १–१ को बराबरी खेलेको थियो । दोस्रो चरणमा पुग्नका लागि नेपालले दोस्रो लेगमा लाओसलाई हराउनैपर्ने हुन्छ ।

दोस्रो लेगको खेलमा विजयी हुने टिम विश्वकप एसिया छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ, जहाँ कूल ३६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । उनीहरुलाई ४–४ टोली रहने गरी ९ समूहमा विभाजन गरिनेछ । त्यसैले यो खेल नेपाली फुटबलको भविष्यका लागि निकै महत्वपूर्ण छ ।

नेपाल र लाओसबीचको विजेता दोस्रो चरणमा युएई र बहराइन रहेको समूह ‘एच’मा पर्नेछ । यस्तै यमन र श्रीलंकाबीचको पहिलो चरणको विजेता पनि यही समूहमा रहनेछ ।

दोस्रो चरणमा पुग्नका लागि अट्याकिङ फुटबल खेल्ने र जसरी पनि जित निकाल्ने नेपालको रणनीति छ । नेपाली टोलीका मुख्य प्रशिक्षक भिनचेन्जो अल्बर्टो एनेसले लाओस विरुद्ध आक्रामक फुटबल खेल्ने बताएका छन् ।

प्रशिक्षक एनेसले यो खेल आफ्नो र नेपालका लागि महत्वपूर्ण रहेको भन्दै राम्रो तयारी पनि गरेको बताए । ‘हामीले निकै राम्रो तयारी गरेका छौं । हामीले आफैंमा ध्यान केन्द्रित गर्न आवश्यक छ । यो खेल नेपाल र मेरो लागि पनि निकै महत्वपूर्ण छ,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस