पोखरा, २५ फागुन ।
पुन एकता क्लब पोखराको आयोजनामा मंगलबारदेखि सुरु भएको खुला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ मर्दीखोला र बनौ बास्केटबल टिम फाइनल प्रवेश गरेको छ ।
रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा मर्दीखोलाले पर्वत बास्केटबल टिमलाई ५३-४५ स्कोरले हराउँदै फाइनल प्रवेश गरेको हो । दोस्रो सेमीमा बनौले स्वाँतलाई ६४-५१ स्कोरले पराजित गर्दै फाइनलमा मर्दीखोलासँगको भेट पक्का गरेको क्लब सदस्य राजेन्द्र पुनले जानकारी दिए ।
महिलातर्फ अन्नपूणर् गाउँपालिका र अमिचि क्याफे फाइनल पुगेको छ । अन्नपूणर्ले पृथ्वीनारायण क्याम्पसलाई १२-४ को स्कोरमा हराएको क्लब सदस्य पुनले जानकारी दिए । दोस्रो सेमिफाइनलमा अमिचिले म्याग्दी बास्केटबल क्लबलाई १३-९ ले पराजित गर्दै फाइनल खेल्ने भएको हो ।
भेट्रान्सतर्फ एक्स एबिसी फाइनल प्रवेश गरेको छ । एबिसीले सात गाउँ पुन मगर समाजलाई ४८-४१ को स्कोरले हराएको हो । कास्की र लामाचौर बिचको दोस्रो सेमीफाइनल समय अभावका कारण हुन नसकेको उनले जानकारी दिए । यो खेल शनिबार बिहान खेलाइने उनले बताए ।
यसअघि भएको पुरुषतर्फको क्वार्टरफाइनल खेलमा मर्दीखोलाले नागीलाई ६५-५७ ले पराजित गरेको थियो । अन्तिम क्वार्टरफाइनल खेलमा स्वाँतले नदिपुर बास्केटबल क्लबलाई ७०-६४ ले हराएको उनले बताए ।
फागुन २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता पुरुष, महिला र भेट्रान्स गरी ३ विधामा सञ्चालन भइरहेको संयोजक रनसिंह गर्बुजाले जानकारी दिए । सबै विधाको फाइनल खेल शनिबार हुने उनले बताए ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमलाई १ लाख रुपैयाँ नगदसहित ट्रफि, मेडल पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष सुदिप पुर्जाले जानकारी दिए । द्वितिय हुने टिमले ५० हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
भेट्रान्सतर्फ प्रथमले ३५ हजार र द्वितियले १७ हजार ५ सय नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष पुर्जाले जानकारी दिए । महिलातर्फ विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले सुनाए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने
राष्ट्रपति पाैडेल कतार प्रस्थान