logo go bungy

१०४ वर्षीया आशमाया गुरुङ सम्मानित

News Logoपरिचित खबर 2 हप्ता अगाडि
87 2 minutes read

पोखरा,२१ साउन । उमेर १०४ वर्ष, अनुहार मुजा परिसक्यो, कानको लोती लत्रिसकेका छन, शरिरमा कुनै रोग छैन, अनुहार खुसी छ,,कुरा सुन्ने र जिज्ञासुपन अझै मरेको छैन,उनीसँग । 
चार छोरा,तीन छोरीसहित ४० जना परिवारका सदस्यकी प्यारी १०४ वर्षीया आशमाया गुरुङ विहीबार सम्मानित भएकी छन् । तनहँु जिल्ला म्याग्दे गाउँपालिका वडा नं ४ थर्पु निवासी गुरुङलाई उनकै घरमा पुगी ज्येष्ठ नागरिक सरोकार समाज नेपाल, पोखरा–९ शान्तिवन कास्कीले सम्मान गरेको हो । 
अझै आँखा देख्छिन, कान सुन्छिन र खाना खान कसैको सहारा लिनुपर्ने अवस्था छैन, यतिवेला उनको पालनपोषण नातिनी बुहारी विष्णुमाया गुरुङले गर्दै आएकी छन् । सम्मानका क्रममा उनी  नातिनी बुहारी विष्णुमायासँग गफिएको देखिथ्यो ।सेलरोटी र तरकारी चपाएर खाइरहेकी गुरुङले नातिनी बिहारी विष्णुमायासँग पटक पटक भनिरहेकी थिइन, टेबुलमा राखेका केरा मिठो होला है । 
यति धेरै मानिसहरु घरमा कहाँबाट आएका हुन, गलामा लगाइदिएको रुद्राक्षको माला हातले समाउँदै उनले मलाई किन लगाइदिएका हुन भन्दै बुहारीसँग जिज्ञासा राखिरहेकी थिइन् । बुहारीले उनका जिज्ञासाको सहजै जवाफ दिँदै  गएकी  थिइन् । 
वि.स. १९८० साल असार ४ गते तनहुँको मनपाङ गाउँपालिका वडा नं ६ काल्चे गाउँमा बुवा गोरे गुरुङ र आमा कान्छी गुरुङको कोखबाट जन्मिएकी एक्ली छोरी आश मायाको तनहुँ म्याग्देस्थित गंगाराम गुरुङसँग विवाह भएको हो । उनका श्रीमान गंगाराम गुरुङको यस अघि नै निधन भइसकेको छ ।  
ज्येष्ठ नागरिकहरूको सम्मान, कल्याण, अधिकार र सुरक्षाको पक्षमा काम गर्दै आएका समाजले शताब्दी पार गरेका (१०० वर्ष वा सोभन्दा बढी उमेरका) ज्येष्ठ नागरिकहरूलाई घरमै पुगेर सम्मान गर्ने अभियान सञ्चालन गर्दै आएको छ ।
आशमायालाई सम्मान गर्दै ज्येष्ठ नागरिक सरोकार समाज, नेपाल पोखरा–९ शान्तिवन कास्कीका अध्यक्ष नारायणप्रसाद सुवेदीले एक सय वर्षको उमेर नाघेका ज्येष्ठ नागरिक दुर्लभ मात्र भेटिने भएकाले त्यस्ता नागरिकलाई संस्थाले घरमै पुगेर सम्मान गर्दै आएको बताए । १०४ वर्षीया आशमाया गुरुङको शरिरको सक्रियपनले उनी अझै वषौ जीवित रहने आशा आफूले गरेको बताए । 
सम्मान कार्यक्रममा बोल्दै म्याग्दे गाउँपालिका वडा नं ४ का वडाध्यक्ष दिपक कुमार श्रेष्ठले वडाका तीन सय घरपरिवारमा सबैभन्दा ज्येष्ठ सदस्य आशमाया गुरुङ रहेको बताउँदै यति धेरै उमेर भएर पनि निरोगी मानिस देशभर निकै कम संख्यामा हुने बताउँदै उनले परिवारका सदस्यको स्याहार सुसार अत्यन्त राम्रो भएकाले पनि उनलाई थप वर्ष बाच्न मद्दत पुगिरहेको भनाइ वडाध्यक्ष श्रेष्ठले बताए । 
सरोकार समाजका प्रवक्ता कुष्मराज आचार्यले गण्डकी प्रदेशका १०० वर्ष उमेर समुह पार गरेको ज्येष्ठ नागरिकलाई घरमै पुगेर सम्मान गर्ने गरेको जानकारी दिए । उनीहरुको सुरक्षा, संरक्षण र अधिकारका लागि संस्थाले आवाज उठाँउदै आएको बताए । उक्त सम्मान कार्यक्रममा समाजमा पूर्व अध्यक्ष भक्तराज श्रेष्ठ, आजीवन सदस्य भरतराज तझ्या, तेजकुमार मल्ल, धनप्रसाद गुरुङ लगायतको उपस्थिति रहेको थियो । 
 

प्रतिक्रिया दिनुहोस