logo
citizen

एनपीएलमा पोखराले दियो सुदूरपश्चिमलाई चुनौतीपूर्ण १४६ रनको लक्ष्य

87 2 minutes read

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग क्रिकेटको बुधबारको खेलमा सुदूरपश्चिम रोयल्सलाई १ सय ४६ रनको लक्ष्य दिएको छ । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेपछि ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४५ रन बनायो ।

बंगलादेशी ओपनर माहेदी हसनले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा पोखराबाट ३२ रन बनाए । उनले २१ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । तर उनका ओपनिङ जोडी दिनेश खरेल ७ बल खेली ४ रनमा आउट भएका थिए ।

तेस्रो नम्बरमा आएका कुशल भुर्तेलले २१ रन बनाए । उनले १७ बल खेली २ चौका प्रहार गरे । बंगलादेशका पूर्व कप्तान सकिब अल हसन १६ बल खेली १ चौका प्रहार गरी १४ रनमा आउट भए ।

सदीरा समरविक्रमा ८, धनञ्जय लक्षण ११, किरण ठगुन्ना १ रनमा आउट भए । मध्यमक्रममा ब्याटिङ गरेका अर्जुन घर्तीमगरले सर्वाधिक रन बनाए । इनिङ्सको अन्तिम ओभरमा न्युजिल्यान्डका बलर स्कट कुग्लेनलाई २ चौका र १ छक्का प्रहार गरेका अर्जुनले कुल २५ बल खेली अविजित २४ रन बनाए । विपिन खत्री ५ रनमा अविजित रहे ।

सुदूरपश्चिमबाट अनिल खरेलले ३ विकेट लिए । पावर प्लेपछि बलिङमा आएका अनिलले ३ ओभरमा २३ रनमात्र खर्चे । कुग्लेन, हेमन्त धामी र दीपेन्द्रले १–१ विकेट लिए ।

पोखराको प्रतियोगितामा यो पहिलो खेल हो भने पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित सुदूरपश्चिम रोयल्सको टोलीमा कुनै खेलाडी परिवर्तन गरिएको छैन ।

—

प्रतिक्रिया दिनुहोस